शैतानी
प्रवृत्तिलाई अग्नि दहन गर्ने संकल्प गरौं
---रूष्मा राई, गान्तोक..
(समाजका प्रत्येक वर्गका संघर्षशील नारीहरूप्रति समर्पित छ यो लेख)
सृष्टि
निर्माताले यो ब्रह्माण्डमा सृजना गर्नु भएको सबैभन्दा सुन्दर अनि विवेकशील भनेको यो मानव चोला हो| हिन्दु शास्त्रहरूको भनाइअनुसार यो मानव चोला प्राप्त गर्नका लागि चौरासी जूनी प्राप्त गरेको हुनुपर्दछ| सृष्टिको सृजनासँगै नारी र पुरषको संगमले यो विश्व आज अनन्तकालसम्मकै लागि धारा प्रवाहरूपमा अविरल गतिमा निरन्तर बगिरहेको छ, बगिरहेको छ| यो बगाईको कुनै अन्त छैन|
नारी
र पुरूषको मिलनले नै यो मानव चोला आज सफल भएको छ| नारी र पुरूषलाई जिन्दगीको जीवन चलाउने एउटा रथको दुइवटा पाङ्रा मानिन्छ| यदि एउटा भत्किए जीवन रथ चल्दैन अधमरो अवस्थामा पुग्छ| यो कुरा सत्य हो| आज पृथ्वीमा नारी मात्र हुँदो हो या पुरूष मात्र हुँदो के यो विश्व यसरी परापूर्वकालदेखि अविरल गतिमा बग्न सक्ने थियो?
आज
अर्न्तराष्ट्रिय महिला दिवसको अवसरमा हामी एकपल्ट कल्पना गरौं नारी बिनाको समाज कस्तो हुन्थ्यो होला अनि पुरूष बिनाको समाज कस्तो हुन्थ्यो होला? यस्तो कल्पनाले सबैको गिदी खल्बलिन्छ| यो मानव चोलालाई निर्माण गर्ने सृष्टि निर्माताले नारी र पुरूषलाई एक समानको अधिकार दिएका हुन्| तर नारी र पुरूष बीचको समानता बारे कुरा गर्ने हो भने यसमा कुनै समानता भन्ने छैन| पौराणिककालदेखि नै यस पृथ्वीमा पुरूष प्रधान समाजको हुकुमत चल्दै आएको छ| नारीलाई सधैं दुर्बल पक्षमा मात्र हेरिन्दै आएको छ|
पुरूष प्रधान समाजमा नारीलाई दुर्बल अनि सधैं पुरूषको साहरामा बॉंच्न पर्ने स्थितिमा राखिन्दै आएको छ| एउटा समय यस्तो थियो नारीले खुलेर हॉंस्नसम्म पाइन्दैन थियो अनि शिक्षाबाट वञ्चित गरिएको थियो| लोग्नेको मृत्यु हुँदा स्वास्नीले सती जानु पर्ने अनि अग्नि परीक्षा पनि एउटी नारीले दिनुपर्ने समय थियो| उदाहरणको लागि भन्ने हो भने त्रेता युगमा जनकपुरकी राजकुमारी सातीजीले अग्नि परीक्षा दिन परेको घटना पहिलो हुनसक्छ| सीताजीले आफ्नै पति अयोध्याका राजा भगवान श्रीरामचन्दलाई विश्वास दिलाउनका लागि अग्नि परीक्षा दिनुपरेको थियो| उबेलादेखि नै पुरूष प्रधान समाजको दबदबा नारीमाथि परेको थियो भन्ने कुरा स्पष्ट हुन्छ|
पुरूष
प्रधान समाजको हुकुमत अहिलेसम्म पनि विश्वमा समाप्त भएको छैन|
यस्तो दबदबा अहिले कतिपय ठाउँहरूमा बढ़्दै गएको छ| वर्त्तमान समयको कुरा गर्ने हो भने तालिबानले महिलाहरूलाई कसरी मानव अधिकारबाट वञ्चित गरेको छ| नोबेल पुरस्कार विजेता मलाला युसुफजाइले छोरीहरूले पढ़्न पाउनुपर्छ भन्ने आवाज उठाउँदा उनलाई कसरी गोली ठोकेको थियो| एकाइसौं शताब्दीमा पनि यस्तो घटना भएको छ| यसले स्पष्ट हुन्छ अहिलेको आधुनिक युगमा पनि पुरूष प्रधान समाज नारीहरूमाथि हावी नै रहेको छ| आजसम्म पनि नारी र पुरूषमा समानता भन्ने कुरा आउन सकेको छैन| तर समयको गतिसँगै नारीहरूमा अर्न्तचेतना जागृत भएपछि समानताका लागि थुप्रै आवाजहरू उठ्न थाल्यो| कालान्तरमा यही दबिएका आवाजहरू नारीवादी आन्दोलनको रूपमा समग्र विश्वभरि नै फैलियो| नारीवादी आन्दोलन विश्वव्यापी रूपमा शुरू भएको प्रायः एक शताब्दी भइसकेको मानिन्छ| आज कयौं नारीहरूले धेरै कठीन संघर्ष गरेर पुरूषले गर्न नसकेका कामहरू गरेका छन्| विश्वका धेरै ठाउँमा महिलाहरू पुरूषकै हाराहारीमा आएर शासनभार समेत चलाइरहेका छन्| नारीहरू उच्च ओहोदामा हुँदा हुँदै पनि समाजमा धेरै कुराहरूबाट पछि पारिएका छन्| आजको युगमा नारीहरू धेरै शिक्षित भइसकेका छन्, उच्च शिक्षा हासिल गरिसकेका छन्| तरै पनि यस्ता नारीहरूलाई आज पनि घरमा बुहारी मात्र बनाएर राखिएकाहरू धेरै छन्|
एउटा
परिवारको जिन्दगीमा एउटी नारीको धेरै महत्वपूर्ण जिम्मेदारी हुन्छ| छोरी बिहे भएर गएपछि आफ्नो परिवारलाई त्यागेर अर्काको घरको जिम्मेदारी उठाउनु पर्ने हुन्छ| आफू जन्मिएको घर-आँगनलाई सधैंको लागि त्यागेर पराई घरमा जानुपर्छ| पुरूषले भन्दा एउटी नारीले नै कयौं वेदना-पीढ़ा सहन सक्छिन्| अझ अर्को कुरा डोमेस्टिक भायोलेन्स अर्थात घरेलु हिंसा सहने पनि नारी नै हुन्छिन्| वर्तमान समाजमा नारीलाई समानरूपमा राखिएको छ भन्ने बहस चर्किरहन्छ| नारी र पुरूष बराबरीमा छ भन्ने कुरा गरिन्छ तरै पनि समाजमा किन हो नारीले मात्रै डर बोकेर हिड़नु पर्छ| आज नारीहरू उच्च ओहोदामा हुँदा हुँदै पनि सामाजिक समस्या सहँदै बस्नु पर्छ| लाज भन्ने कुराको सामना पनि केटीले मात्र गर्नुपर्छ तर केटाले उस्तो सामना गर्नु पर्दैन| नारीहरूलाई न्याय साथै अधिकार दिन सरकारले कानून बनाएको छ तर यसलाई उपभोग गर्नु सकेको छैन| आज देश विदेश भनौं कहिँ पनि नारीहरू सुरक्षित छैनन्| नारी पनि मान्छे हो भन्ने कुरा बुझ्नु पर्छ| समाजका प्रत्येक वर्गका नारीहरू शिक्षित साथै सचेत हुनुपर्छ आफ्नो अधिकारप्रति|
अर्न्तराष्ट्रिय
महिला दिवस विश्वका विभिन्न देशमा मनाइन्छ| अर्न्तराष्ट्रिय महिला दिवस पालन गरिन थालेको प्रायः एक शताब्दी भइसकेेको छ| अर्न्तराष्ट्रिय महिला दिवसमा महिला सुरक्षा, अधिकार, समानताका लागि नयॉं संकल्प गरिन्छ| अर्न्तराष्ट्रिय महिला दिवसलाई एकपल्ट फर्किएर हेर्न आवश्यक छ| सन् १९०८ सालमा राम्रो तलब साथै मताधिकारको माग गर्दै १५००० महिलाहरूले अमेरिकाको न्यूयोर्क शहरमा जुलूस निकालेको थियो| १९०९ सालमा सोसियलिस्ट पार्टी अफ्
अमेरिकाले
२८ फरवरीको दिन अमेरिकाभरिनै राष्ट्रिय महिला दिवस पालन गर्ने घोषणा गरेको थियो| यो थियो पहिलो महिला दिवस| यसपछिदेखि अमेरिकामा फरवरी महीनाको अन्तिम आइतबार पारेर १९१३ सालसम्म राष्ट्रिय महिला दिवस पालन गर्यो| १९१० सालमा कोपेनहगेनमा इन्टरन्याशनल कन्फरेन्स अफ् वुमेन आयोजना भएको थियो| त्यसै कन्फरेन्स्मा जर्मनीको सोसियल डेमोक्रेटिक पार्टीको वुमेन्स् अफिसका नेतृ क्लारा जेटकिनले महिला दिवस विश्वका सबै देशहरूमा पालन गर्न अर्न्तराष्ट्रिय महिला दिवसको विचार प्रकट गरेेकी थिइन्| १७ वटा देशहरूका १०० महिला र फिनिश् पार्लियमेन्टका ३ जना प्रथम निर्वाचित महिलाहरू सहभागि भएका त्यस कन्फरेन्स्मा जेटकिनको विचारलाई प्रस्तावको रूपमा ग्रहण गरियो| यसै कन्फरेस्को परिणाम हो अर्न्तराष्ट्रिय महिला दिवस|
.......
अर्न्तराष्ट्रिय
महिला दिवस नारीवादी आन्दोलनको एउटा मूल स्रोत हो| यो आन्दोलन अन्तहीन संघर्ष बनेर महिलाहरूको अधिकार र सुरक्षाका अघि बढ़िरहेको छ| आज राजनीतिको क्षेत्रमा हेर्ने हो भने महिलाहरू मथिल्लो दर्जामा पुगिसकेका छन्| स्कूलहरूमा पनि नारी शिक्षिकाहरूको संख्या बढ़दै गइरहेका छन्| सिक्किममै हेर्ने हो भने हिजोआज नारीहरूले ट्याक्सी चलाएर आफ्नो व्यवसाय चलाउन सक्षम भइसकेका छन्| एउटा नानीलाई हुर्काउने र उसको भविष्य बनाउने जिम्मासमेत उठाउन सक्छिन् एउटी नारीले| घरलाई दह्रिलो बनाउने आमा हुन्छिन्| नारी समाजको एउटा दह्रिलो खम्बा हुन्| यसैले नारीको भावनालाई बुझ्न सक्नुपर्छ|
अर्को
कुरा यदि जिन्दगीको संघर्षपूर्ण पथहरूमा फ्रस्ट्रेशन आए यसलाई सामना गर्नको साटो पुरूषले रक्सी पिउन थाल्छन् अनि घर परिवारलाई नै बर्बाद बनाउँछन्| यस्तो अवस्थामा घर सम्हाल्ने एउटी नारी आमा हुन्छिन्| एउटी नारीमा जस्तै ठूलो पीढ़ा पनि सहन सक्ने शक्ति हुन्छ| तर पुरूषको फ्रस्ट्रेशनमा नारी नै पिढ़ीत हुनुपर्छ| आज कतिपय पुरूषको विकृत मानसिकताको कारणले कयौं छोरीहरू बलात्कारको शिकार भइरहेका छन्| यति मात्र होइन बलात्कारपछि नृशंस घृणित किसिमले हत्या गरिन्छ| यस्तो राक्षस प्रवृत्तिको घटनामा कयौं छोरीहरूले ज्यान गुमाएका छन्| अर्को घृणित कार्य हो कुनै वस्तुको रूपमा महिलालाई बिक्री गरिनु| नारीलाई बिक्री गरेर दास बनाएर शारीरिक शोषण गर्ने कार्य उहिल्यैदेखिको हो| अहिलेको युगलाई ग्लोबलाइजेशन भनिन्छ| यसभित्र क्यापिटलिष्ट अर्थात पुञ्जीवादले घेरिन्दै गएको समाजमा अझ महिलाहरूलाई बिक्री गरिने काम विभिन्न किसिमले बढ़दै गएको छ| बढ़दो पुञ्जीवादी समाजमा सिङ्गो नारीदेखि लिएर नारीको फोटा समेत पनि बिक्री गरिन्छ| आज नारीलाई कुनै दैनिक आवश्यक वस्तुको रूपमा बिक्री गरिन्छ| यसरी बिक्री भएका नारीहरू कति भित्रभित्रै अर्न्तवेदनामा जलेर मर्दैछन्| बलात्कारीलाई कानूनले सजाय दिन्छ तर एउटी बलात्कार भएकी केटीलाई हेर्ने समाजको मानसिकता र नजरमा केही परिवर्त्तन भएको छ? उसलाई समाजको मूलधारामा ल्याउने क्षमता समाजसित छ? यसको उत्तर फ्याट्टै दिन सजिलो होला तर के व्यावहारिक रूपमा आउन सक्छन्? त्रेता युगदेखिकै हेर्दै आउँदा आजसम्म पनि नारीलेनै सधैं अग्नी परीक्षा दिंदै आउनु परेको छ| नारी अस्मिता, नारीको स्वतन्त्रता, नारीको अधिकारप्रति प्रश्न उठाउने अनि एउटी नारीको अर्को नारीले बद्ख्वॉंइ गर्ने नारीनै हुन्छिन्| पहिला नारीले नारीको सम्मान गर्नुपर्छ| एउटी नारीमाथि अन्याय भए सबै नारीहरू एक भएर आवाज उठाउनु पर्छ| नारीले नारीलाई बदनाम गराउने काम गर्नु हुुँदैन| अझ अर्को कुरा के छ भने कतिले गर्भावस्थाको बेलामा छोरा हो की छोरी भन्ने कुरा पत्तो लगाउने कोशिश पनि गर्छन्| यदि छोरी हुन्छ भन्ने पत्तो लागे गर्भमै तुहाउने कार्य समेत गरेको घटनाहरू सुनिन्दै आएको छ| यसरी छोरीको भ्रुण हत्या भए मानव समाजमा छोरीको संख्या घटेर जानेछ| यस्तै घटनाहरूका कारणले गर्दा र यसलाई रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरिनै ‘छोरी बचाउ अभियान’ चलाएका छन्|
आज
विश्वमा कयौं संघर्षशील महिलाहरू छन्| आफ्नो कठीन संघर्षले उनीहरू शिखरमा पुग्न सकेका छन्| प्रत्येक संघर्षशील महिलाहरूका लागि उनीहरू प्रेरणा साथै आत्मविश्वासका स्रोत हुन्| समग्र विश्वलाई किन हेर्ने! यता हाम्रो आफ्नै सानो सिक्किमेली समाजमा हेरौं| आज सिक्किममा मुख्यमन्त्री पवन चामलिङ एकजना नारीवादी विचारधारा भएका नेता भएका हुनाले यहॉं प्रत्येक क्षेत्रमा महिलाहरू अघि आउन सकेका छन्| राजनीतिको क्षेत्रमा हेर्ने हो भने सिक्किम डेमोक्रेटिक फ्रण्टको सरकारले राज्यको विधानसभामा कलावति सुब्बालाई अध्यक्ष बनाएर महिलाहरूलाई राजनीतिमा प्रवेश गर्ने दैलो खोलिदिए| सिक्किमको पञ्चायतमा महिलाहरूलाई एसडीएफले ५० प्रतिशत सीटमा आरक्षण दिएर पुरूष प्रधान समाजमा बराबरीमा ल्याउने प्रशंसनीय कार्य गरेका छन्| पूर्व मन्त्री श्रीमती नीरू सेवा शिक्षकबाट राजनीतिमा प्रवेश गरेकी हुन्| निक्कै संघर्ष गर्दै आएकी श्रीमती नीरू सेवा सिक्किमको राजनीतिमा प्रवेश गरेर मन्त्री जस्तो गरिमामय पदमा पुग्न सफल भइन्| यस्तै सिक्किमको विधानसभामा विधायिक जस्तो गरिमय पदमा पुग्ने संघर्षशील महिलाहरूमा तिलु गुरूङ, तुलसी देवी राईहरू महिला सशक्तिकरणका लागि उदाहरण हुन्| उनीहरूले राजनीतिको क्षेत्रबाट समाजका लागि धेरै राम्रा उदाहरणीय कामहरू गरेका छन्| सिक्किमेली समाजमा उनीहरू प्रत्येक महिलाहरूका लागि हौसला हुन्, आत्मविश्वासका प्रतीक हुन्|
आज
सिक्किममा नारीवादी सरकार हुँदा हुँदै पनि नारीहरू डोमेस्टिक भायोलेन्स साथै बलात्कारका शिकार भइरहेका छन्| यो सरकार साथै सुरक्षा व्यवस्थाको दोष होइन| यस्तो घटना विकृत मानसिकताको दोष हो| यस्तो घृणित मानसिकतालाई जरैबाट उखेलेर फ्यॉंक्ने दायित्व हो समाजको| आज अर्न्तराष्ट्रिय महिला दिवसको श्ाुभअवसरमा महिलाहरूको सुरक्षा, अधिकार, समानताका लागि अनि विकृत मानसिकता भएको शैतानी प्रवृत्तिलाई अग्निदहन गरेर समाप्त गर्न प्रत्येक महिलाहरूले संघर्ष गर्ने दृड़ संकल्प गरौं|

No comments:
Post a Comment