Friday, 20 February 2015

डाइनोसरसले फेरि निल्दैछ


..रूष्मा राई…..

करोड़ौं वर्षअघि विशालकाय जनावर डाइनोसरसले त्यसबेलाको मिथकीय मानव समाजमा ठूलो आतङ्क मच्चाएको थियो| डाइनोसरसले मानव समाजलाई निल्दै गएर मानव समाजको अस्तित्व नै मेटाउने स्थितिमा पुर्याइसकेको थियो| अहिले वर्त्तमान युगको मानव समाजमा कैयौं समस्याहरू नै ठूला चुनौती भएर अदृश्य डाइनोसरस बनेर विश्वभरि डुलिरहेका छन्|
आज समग्र विश्वलाई हेर्ने हो भने किसिम किसिमका समस्याहरूले ग्रस्त नभएको कुनै देश छैन| आतङ्कवाद, हिंसा, भ्रष्टाचार, बलात्कार, मानव तस्करी, ड्रग्स, बेरोजगारी, एचआईभी/एडस् आदि विश्वभरिका देशहरूका लागि वर्त्तमान समयमा जटिल समस्याको रूपमा खड़ा भएको छ| यस्ता समस्याहरूबाट कसरी मुक्ति पाउने भन्ने कुराले सबैलाई चिन्तित बनाएको छ|
आज यही समस्याहरू नै डाइनोसरको भट्किएको आत्मा भएर मानव समाजलाई दिनदिनै निल्दै गइरहेको छ| यी प्रत्येक समस्याहरूको मुख्य शिकार युवावर्ग भएका छन्, जसले गर्दा वर्त्तमान समाजलाई बिस्तारै बिस्तारै एउटा कालो अँध्यारो दुनियॉंतिर धकेलिरहेको छ| समाज दिनदिनै विसङ्गतिको दिशामा लम्किरहेको छ| विभिन्न समस्याले ग्रस्त भएर युवाहरू आज अँध्यारो बाटोमा दिशाहीन भएर गइरहेका छन्| युवाहरूमा भविष्यको कुनै लक्ष्य छैन| भनौं भने लक्ष्यविहीन छन्| विश्वका विभिन्न देशहरूमा मात्र किन नजर डुलाउने! पहिला हाम्रै आफ्नो देश भारतलाई हेरौं अनि यसभन्दा पनि पहिला हाम्रो सानो र सुन्दर राज्य सिक्किमलाई हेरौं| आज सिक्किमले विकासको क्षेत्रमा थुप्रै माइलखुट्टीहरू गाड़िसकेका छन्| वर्त्तमान समयमा सिक्किमलाई एउटा सम्पन्न अनि विकसित राज्य देखिन्छ| तर विकाससँगै अर्कोतिर थुप्रै किसिमका विसङ्गतिहरूको पनि विकास भएर गएको छ| अन्य राज्य साथै विश्वका अरू देशहरूमा पनि विसङ्गतिहरू, समस्याहरू भई नै रहन्छ र यहॉं पनि सानोतिनो त हुन्छ नि भन्ने कुरा गरेर आफैलाई शान्त पार्ने प्रवृत्ति हुन्छ| तर यस्तो प्रवृत्ति आफ्नो ठाउँको लागि पछि गएर आत्मघाती बन्दछ| शरीरमा निस्किएको घाउ सानो हुँदाखेरि नै जरैबाट निकाल्नुपर्छ| घाउ सानै त छ भनेर त्यसै छोड़िदिए, एकदिन त्यही सानो घाउको रूप बद्लिएर क्यान्सर हुन्छ| यस्तै समाजमा देखा परेका विसङ्गतिहरू र समस्याहरूलाई पनि यसको प्राथमिक चरणमा नै सही उपचार गरिनुपर्छ|

बढ़्दो विसङ्गति र समस्या

विसङ्गति र समस्याहरू उत्पन्न किन हुँदैछ? यसबारेमा सरकारले मात्र होइन शहर, गाउँ-बस्तीका सामाजिक संस्था साथै नागरिक समाजहरूले समीक्षा गर्नुपर्छ र यसका कारणहरू खोज्नुपर्छ| आज सिक्किममा हेर्ने हो भने मीडियामार्फत हामी थाहा पाउँछौं, यहॉं ड्रग्सका साथमा थुप्रै विसङ्गतिहरू भित्रिएका छन्| बारम्बार सिक्किमको कुनै न कुनै ठाउँमा ड्रग्स पक्रिएको समाचारहरू आई नै रहन्छ| यो सिक्किमेली समाजको अघि एउटा ठूलो समस्या भएर अघि आएको छ| दिनदिनै मानिसले आफ्नो भावनासमेत गुमाउँदै गइरहेका छन्| समाजको भविष्य के हुन्छ भन्ने कुरामा चिन्ता हराउँदै गएको छ| अर्को ठूलो भयानक समस्या समाजको अघि आएको छ| त्यो हो - सामाजिक अपराध| आज देशकै धेरै ठाउँमा छोरी-चेलीहरू सुरक्षित छैनन्| समाजमा आएको एउटा नकारात्मक भयानक कालो छायॉंले कैयौं छोरी-चेलीहरूलाई जिउँदो लाश बनाएको छ| यस्तो सामाजिक अपराधमा कति छोरीहरू आफ्नै शिक्षकबाट, आफ्नै बाबुबाट समेत बलात्कृत भइरहेका छन्| यस्ता कति घटनाहरूको पुलिससमक्ष उजुरी हुन्छ भने कति सामाजिक भय र भेदभावका कारणले त्यतिकै भित्रभित्रै दबिएका छन्| कारण समाजसित एउटी बलात्कृत भएकी छोरीलाई सजिलैसितले मूलधारामा स्वीकार्नसक्ने क्षमता छैन|
हिंसा र समस्या विश्वभरि नै छ| विश्वका कैयौं देशहरू अनि यसभित्रका प्रान्तहरू सामाजिक हिंसा, राजनैतिक, आतङ्कवादलगायत कैयौं समस्याले जकड़िएको छ| सिक्किममा आतङ्कवाद छैन| तरै पनि बेला बेलामा राजनैतिक हिंसाले सिक्किमलाई छोप्ने गरेको छ| यसले गर्दा पनि सामाजिक हिंसा, अपराधले प्रोत्साहन पाउँछ| सिक्किम एउटा सानो, सुन्दर र शान्त ठाउँ भएको हुनाले यहॉं आपराधिक घटनाहरू नहुनु पर्ने हो|

युवा पीढ़ीमा फ्रस्ट्रेशन

वर्त्तमान युवा पीढ़ीमा एक प्रकारको फ्रस्ट्रेशन देखा परेको छ| उनीहरूले सही मार्गदर्शन पाउनसकेका छैनन्| युवावर्गको भावनालाई बुझ्ने कोशिश भएको छैन| कैयौं राम्रा राम्रा पढ़े-लेखेका युवाहरू आज आफ्नै ठाउँबाट पलायन भइरहेका छन् भने आफ्नो अध्ययन सकेपछि रोजगारको ठूलो समस्याको सामना गर्नुपर्ने स्थिति खड़ा भएको छ| सिक्किममा अवसरहरू थुप्रै छन्| सिक्किममा सरकारले थुप्रै अवसरहरू खोलिदिएको छ| तर वर्त्तमान समयको बढ़्दो जनसंख्यालाई तुलनात्मक दृष्टिकोणबाट हेर्दा यी अवसरहरू युवावर्गका लागि पर्याप्त हुन्छ? यो एउटा ठूलो प्रश्न हो| पढ़ेपछि पहिला सबैको मुख्य लक्ष्य हुन्छ सरकारी नोकरी| सबै यसैको पछि दौड़िन्छन्| व्यापारको क्षेत्रमा कुरा गर्नेे हो भने यसमा धेरै नै चर्को प्रतिस्पर्द्धा छ अहिले| होटल, रेस्तुरॉं, ब्युटी पार्लरको कुरा गर्ने हो भने हिजोआज यी सबै दैलैपिच्छे र गल्ली गल्लीमा छ| पैसा कमाउने इच्छा सबैलाई हुन्छ| छेवैको साथीले पैसा कमाउँदा उसका अर्को साथीलाई पनि पैसा कमाउने चाहना हुन्छ| आफ्नो कुनै साथीले राम्रो नोकरी पाउँदा उसको साथीलाई पनि त्यसको चाहना हुनुु स्वाभाविक नै हो| जीवन सङ्घर्षको यस्ता प्रतिस्पर्द्धामा आफू पछि पर्दाखेरि नै युवाहरूमा फ्रस्ट्रेशन उत्पन्न हुन्छ अनि यसैबाट पैदा हुन्छ समाजमा थुप्रै किसिमका विसङ्गतिहरू|

मार्गदर्शनको आवश्य
कता

यी सबै कुराहरूलाई हेर्दा अहिलेको समाजमा आध्यात्मिक ज्ञानको आवश्यकता निक्कै खट्किएको छ| आध्यात्मिक ज्ञानले मानिसभित्रको नकारात्मक विचारलाई मारेर सकारात्मक र सृजनात्मक विचार पैदा गराउँदछ| नकारात्मक विचारले नै समाजमा अपराध सृजना हुन्छ| वर्त्तमान युवा पीढ़ीलाई सही मार्गदर्शन र परामर्शको आवश्यकता छ| स्वस्थ समाज निर्माणका लागि यी कुरा अति नै आवश्यक छ| आध्यात्मिक क्षेत्रसँगसँगै राजनैतिक क्षेत्रबाट पनि सामाजिक दायित्वप्रति मार्गदर्शन दिन आवश्यक छ| सामाजिक क्षेत्रलाई दह्रिलो बनाउनका लागि राजनीति एउटा प्रभावकारी माध्यम हो| राजनैतिक नेताहरूले आफ्नो राजनैतिक भाषण दिँदा पॉंच दश मिनट युवाहरूका लागि सामाजिक दायित्व, नैतिक मूल्य, मानव मूल्य, आत्मसम्मानका कुराहरूबारेमा बुझाउन आवश्यक छ| राजनीति र समाजको सम्बन्ध अनि यसको महत्वबारेमा बुझाउन आवश्यक छ| यसका साथै यस दिशामा सामाजिक संस्थाहरूको भूमिकालाई छुनसके झनै राम्रो हुन्छ| 
यस्ता कुरा युवाहरूका लागि जीवन संघर्ष साथै विभिन्न क्षेत्रमा प्रतिस्पर्द्धा गर्नका लागि प्रेरणादायक बन्दछ| कारण एकजना राजनैतिक नेताको अघि भाषण सुन्न हजारौं जनता सामेल भएका हुन्छन्| अहिले सिक्किममा उदाहरणको लागि हेर्ने हो भने मुख्यमन्त्री पवन चामलिङले आफ्नो भाषणमा समाज विकासका सन्देश र यसप्रति जनताका दायित्वहरूबारेमा बताएका हुन्छन्| मुख्यमन्त्री पवन चामलिङका कुराले सकारात्मक विचार जाग्छ अनि पोजिटिभ एनर्जी पैदा हुन्छ युवाहरूमा| उनका विचारहरू र सन्देशलाई युवाहरूमा फैलाउनसके केही हदसम्म असल कार्य हुनेछ| नोकरीको प्रतिस्पर्द्धाको यो युगमा मुख्यमन्त्री पवन चामलिङका धेरै कुराहरूले एनर्जी प्राप्त हुन्छ| सिक्किमका जनता उपभोक्ता होइन उत्पादक बन्नुपर्छ भन्ने उनका यस कुराले| सिक्किमका जनतालाई नोकर होइन मालिक बन्ने हौसला दिएको छ|
अहिले एउटा समस्या छ| केटीहरू बाहिरतिर जॉंदा होस् वा आफ्नै ठाउँमा पनि विभिन्न किसिमले आफूलाई असुरक्षित ठान्छन्| यसबाहेक आफ्नो विभिन्न इच्छा पूरा गर्नलाई अर्काको सहारा लिन्छन्| तर म भन्छु, केटीहरू आफैले पैसा कमाउनुपर्छ| केटाको पैसा देखेर जाने होइन, तर केटीले पैसा कमाएको देखेर किन पछि लाग्ने बनाउनुसकिँदैन? विश्वमा धरै उच्च उच्च ओहोदाका अनि उद्यमी व्यवसायी महिलाहरू छन्| ह्यारी पोटरकी लेखिका जे.के. राउलिङ, बिबा गार्मेण्ट कम्पनीकी संस्थापिका मिना बिन्द्रा, कोलकातामा जन्मिएकी पेप्सीकोकी सीईओ इन्द्रा नुयीहरूले कसरी कठिन सङ्घर्ष गरेर अघि आएका छन्| अर्कोतिर हेर्ने हो भने अमेरिकाका राष्ट्रपति बराक ओबामा, हाम्रै देश भारतका प्रधानमन्त्री मोदी एकैचोटि शिखरमा आएका होइनन्| सिक्किमका मुख्यमन्त्री पवन चामलिङ पनि एकैचोटि सजिलोसित शिखरमा पुगेका होइनन्| आफैले कठिन सङ्घर्ष गर्दै एउटा गरिमामय शिखरमा पुगेका हुन्|
अहिले युवावर्गमा उमेर गयो भनेर हतारिने र हतासिने काम हुन्छ तर उमेर गयो भनेर हतासिनु हुँदैन| मेरो विचारमा उमेर भनेको एउटा दिमागी अवस्था हो| जस्तै नानीसित कुरा गर्दा नानीजस्तै, वृद्धसित कुरा गर्दा त्यस्तै प्रकारले कुरा गरिन्छ| यी सब त दिमागले नै गराउॅँछ| उमेर बढ़्दै जान्छ, यो त प्रकृतिको नियम हो| तर दिमाग सधैं ताजा रहनुपर्छ फ्रेस| उमेरको हिसाब गर्नुहुँदैन, तर दिमाग ठीक राख्नुपर्छ| शाहरूख खानले ३० वर्षको उमेरमा करिअर शुरू गरेका हुन्| उनले उमेरको हिसाब गरेका भए आज शिखरमा उक्लिनसक्ने थिएनन्|
आज समाज र युवावर्गलाई मार्गदर्शन दिने राजनीति नै अवसरवादी भएको छ| अहिलेको राजनीतिका लागि युवावर्ग राम्रो अनि बलियो अवसर भएका छन्| राजनीतिक दलहरू युवा शक्तिलाई आफू शक्तिशाली बन्नका लागि हतियारको रूपमा प्रयोग गर्छन्| तर युवावर्गलाई उज्ज्वल भविष्यको लक्ष्य देखाउनका लागि उचित मार्गदर्शन दिने काममा भने पछि परेको छ| विकृत बन्दै आएको मानसिकतालाई कसरी परिवर्तन गर्ने भन्ने विषयमा सामाजिक साथै राजनैतिक रूपमा चर्चा हुन आवश्यक छ| मानसिकता राम्रो भए नराम्रो काम हुँदैन| सरकारले प्रत्येक क्षेत्रमा निःशुल्क परामर्श केन्द्र साथै मेडिटेशन क्याम्प खोलिदिए राम्रो हुनसक्छ| हप्ता दिनकै लागि खोलिदिए पनि धेरै राम्रो हुन्छ| यस्ता क्याम्पहरू स्कूलदेखि नै शुरू गर्नसके उपयोगी हुनसक्छ| एउटा स्वच्छ र स्वस्थ समाज निर्माणका गर्नका लागि समाजका सबै नागरिकहरूलाई सहभागी बनाउने दिशामा अघि बढ़्नुपर्छ|
(१७ फरवरी २०१५-को स्वर्णभूमिमा प्रकाशित भएको लेख)

No comments:

Post a Comment